कुरा २०२२ सालको हो , बा हिन्दुस्तान र पाकिस्तानको युद्ध
ताका देउकी भन्ने स्थानमा थिए । त्यो बेला उनी एउटा डिस्पेन्सरीमा काम गर्थे ।
चुहिने छानो भएको घर अनि ६ महिना पनि मज्जाले खान नपुग्ने अन्न उब्जने खेतबारी
मात्र देखेका बालाई डिस्पेन्सरीको कमाई राम्रो नै थियो । उनले दुख गरेर २, ४ पैसा भएपनि जोगाएका थिए । केहि पैसा जोगाएपछी उनलाई घरमा खान बस्न राम्ररी
नसकेका आमा र भाईहरुको याद आउन थाल्यो । अब बाले घर फर्कने बिचार गरे । केहि दिन
नबित्दै बा नेपाल फर्कने भए । अगिल्लो
चोटी पसिना बगाएर कमाएर ल्याएको
१४५ रुपैंया बाटैमा चोरी भएको थियो । यसपाली बा अलि सतर्क थिए । उनले पैसालाई
पटुकामा राम्रो संग कम्मरमा बेरे , पटुकामा पैसा मात्र बेरेनन् खुकुरी पनि बेरे । यसपाली पाकेटमार भेटियो भने ‘कि त्यो छैन कि म छैन’ भन्ने बाको सोच थियो ।
बा रेलको यात्रा गर्दै रक्सौल आइपुगे । त्यसपछि
बस हेटौडा सम्म लाग्थ्यो । बा बसमा चढे ।
यसपाली बालाई बसभित्र एकदमै अनौठो महसुस् भैराखेको थियो । अगिल्लो चोटी हाडछाला
घोटेर कमाएको पैसा सबै चोरीएकाले यसपाली बस भित्रका सबै मानिसहरुलाई बाले पराया मात्र हुन् भन्ठाने । बालाई कोहि संग पनि
बोल्न मन थिएन । उनी केवल पटुकामा भएको पैसाको बारेमा ख्याल गरिराखेका थिए । एक
मनले बसिरहेका बालाई पछाडीबाट कसैले बोलायो । बा झसक्क भए । पछाडीबाट बालाई
बोलाउने मान्छे खाइलाग्दो देखिन्थ्यो । उसले फौजीको पाइन्ट लगाएको थियो । बा अलि ढुक्क भए । फौजी
पाइन्टवाला नेपाली नै रहेछ , बिस्तारै चिना पर्चीहुदै गयो । फौजी पाइन्ट
हिन्दुस्तानी सेनाबाट युद्दताका बर्मा पुगेको रहेछ । बर्मामा गोलीको बर्सात सहन
नसकेकाले बर्माबाट भागेर आएको रहेछ । उसले बालाई पनि भागेर आएको हो भनि सोध्यो , बाले आफु तेसो नभई डिस्पेन्सरीबाट घर फर्कने इजाजत लिई घर फर्कन लागेको बताए ।
फौजी पाइन्ट प्रफ्फुलित देखियो ।
झुत्रे झाम्रे लवाई देखेर फौजीले बालाई दुख
पाएको ठिटो सम्झेछ । हुन त दुख नपाएका पनि होइनन् । झुत्रे झाम्रे बालाई फौजीले
बाटोमा के के खान्छस भनि सोध्दै मिठो मिठो जुल्पी , पुरी , रोटि खुवाउदै आयो । बा पनि मक्ख थिए । उसले पनि
दुख गरेर ७००० जम्मा गरेको रहेछ । उसको पनि बिडम्बना उस्तै रहेछ ।
बस हेटौडा आइपुग्यो , सबै ओर्लिए । बालाई अब काठमाडौँ आउनु थियो । फौजी पाइन्ट पनि काठमाडौँ नै आउने
रहेछ । उसले बालाई कसरी जान्छस अब काठमाडौँ भनि सोध्यो , बाले हिडेर जाने भने । त्यतिकैमा त्यहाँ भर्खरै बाइरोडको बाटो हुदै काठमडौँ जान सुरु गरेको टरक भेटियो । फौजी
पाइन्टले बालाई लौ हिन येसैमा जाउँ भन्यो अनि बा पनि सर्लक्क टरक चढे । बाइरोडको घुम्ती चक्कर मार्दै टरक काठमाडौँ
आइपुग्यो । फौजी पाइन्टले पैसा तिरिदियो टरकको पनि । फौजीले बालाई घर ठ्याक्कै
कहाँ हो भनि सोध्यो , बाले ठ्याक्कै एयरपोर्टको पूर्वपट्टि बताए ।
फौजी पाइन्टको चाही लुभुमा रहेछ । उ एउटा सार्कीको छोरो रहेछ , बाले आफु जैसीको छोरो भएको बताए , एकाएक रास्तामा भेटिएको परायाले देखाएको उपकारले बा निकै प्रभावित भए । उनले
फौजीलाई आफुले पनि परदेशबाट दुख गरेर १४००० ल्याएको बताए अनि फौजी पाइन्टले आफ्नो
लागि खर्च गरेको पैसाको दोब्बर पैसा लिन आग्रह गरे । फौजी पाइन्टले पैसा लिन
मान्दै मानेन , केहि घण्टा अगाडिसम्म अपरिचित यी दुई
व्यक्तिहरु अब सालौदेखि परिचित सरह भैसकेका थिए । तैपनि दुइजना
आ आफ्नो गन्तव्यतिर लागे ।
बालाई अझै पनि पैसा घरमा लैजान मन थिएन । चोरी
चकारिको डर थियो । त्यसैले पैसा बैंकमा राखने निदो गरे । त्यसताका बसन्तपुरमा
नेपालको एकमात्र बैंक थियो । बाले त्यहि नै
पैसा राखने निर्णय गरे , पैसा जम्मा गर्न बैंक जादा बैंकको म्यानेजरले
त्यतिका पैसा कहाँ बाट ल्याएको भनि सोध्यो । पैसाको स्रोत नखुली बैंकमा जम्मा
नगर्ने बतायो । बाले पनि आफुले परदेशमा डिस्पेन्सरीमा दुख गरि कमाएको बताए, आफुसंग वारंत रिकर्ड रहेको बताए । म्यानेजरले बाको कुरा बुझेन अनि बा घर फर्किए ।
एकदिन पैसा घरमा नै बस्यो , बालाई जसरि भएपनि बैंकमा नै पैसा जम्मा गर्नु थियो । अनि उनले गाउँका एक सीछित
मात्र नभई इन्जिनीयरनै भैसकेका नाताले काका भन्नुपर्नेलाई गुहारे । इन्जिनीयर
काकाले पनि भातिजोको कुरालाई काट्न सकेनन्
अनि बैंकमा गएर कमाइको सम्पूर्ण विवरण दिएर बैंकमा पैसा जम्मा गरिदिए । बा
पैसा जम्मा गर्न सकेकोमा दङ्ग परे ।
No comments:
Post a Comment