कुरा २०१९ सालको हो । बा त्यतिबेला हिन्दुस्तानबाट फर्किएर
हजुरबाको बर्खी बारिरहेका थिए । १९ सालको समयमा बर्खी बार्नु सामान्य कुरा थिएन ।
धेरै चोखो बस्नु पर्ने , धेरै बार्नु पर्ने र अझ ठुलो कुरा के
भने अरुले धेरै चियोचर्चो गर्ने बारे नबारेको बारेमा । यी चिजहरुकाबीच सामान्य
जीवनयापन गर्न नै गाह्रो ।
बर्खी बारिरहेको अवस्थामा भित्री हिन्दुस्तान नजाने निर्णय
गरेका बाले अब भैसी लिन नेपाल भारतको सिमामा जाने निर्णय गरे । त्यो बेला तराई अनि
भारतको सीमामा भैसी लिन जाने मान्छेहरु प्रसस्तै हुन्थे । अब बा पनि तिनै
अगुवाहरुलाई पछ्याउदै भैंसी लिन जाने भए ।
भैंसी लिन जानेको टोली नै गठन भयो गाउँबाट । त्यस टोलीको
नेतृत्व बाले बाजे भन्नुपर्ने मार्कन्य नामका व्यक्तिले गरे । पहिलो दिनमा टोली
काठमाडौँबाट पैदलै सिमभन्ज्यांग हुँदै जुरेखेत निस्कियो । दोस्रो दिन जुरेखेतबाट
हेटौंडा हुँदै दक्षिण लाग्यो । चौथो दिन नेपालको सिमानजिकै रहेको भारतको सीतामढी
भन्ने ठाउँमा पुग्यो । सीतामढीमा प्रसस्तै भैंसी दलालहरु भेटिन्थे ।
टोली त्यस रात त्यस ठाउँमा गएर बास बस्यो । भोलि पल्ट देखिन्
मारामार भैंसीको मोलतोल हुन्थ्यो । गाउँभरिका भैंसीहरु हेरिन्थ्ये । बालाई त्यस
रात निन्द्रा लागेन । मरिमरि मुगलानबाट दुख गरेर कमाएको धन खर्च गरेर पहिलो चोटी
भैसी किन्न आएकाले उनलाई कताकता असजिलो महसुस भैराखेको थियो , ठगिने
डर थियो , यस्तै सोच्दासोच्दै बिहान भयो ।
बालाई मार्कन्य बाजेका साथमा दलालले भैंसी देखाउन लग्यो । बा भैंसीवालाले भैंसी समाईराखेको ठाउँमा पुगे
। भैसी काईदाको थियो । मोटोघाटो लैनो भैंसी देखनासाथ बालाई किनौंकिनौं लाग्यो ।
दुध पनि दिनको २ पाथी दीँदो रहेछ ,
अब
अरु के चाहीयो र ? बाले भने , “ भैया ये भैँसके दाम कितने लोगे ?
” भैंसीवालाले भन्यो , “तुम नेपाली
लोग सच्चे होते हो , यिस लिए में तुम लोगोसे ज्यादा प्येसे नहिलुंगा, ३००
में लेजावो।” यस्तो मिठो बोलेर व्यापार गरेको बाले हिन्दुस्तानमा थुप्रै
देखेका थिए , तसर्थ उनले भने, “ भैया ३०० नहि २५० मे दो ।“ भैंसीवालाले भन्यो , “ २७५
मे ले जावो ।” यतिका बेलासम्म चुपचाप बसेका मार्कन्य बाजेले भने , “ धत्
! यस्तो भैंसी पनि लैजान्छन् ! सिङ भाला जस्तो छन् , मर्लास ए भैंसीले हानेर ,
म
भएको भए पांच पैसा पनि हाल्दैन थिए यो भैंसीलाई ।” पाका बाजेको
कुरामा बालाई विस्वास लाग्यो । उनले भैंसी नलिने विचार गरे । बर्खी बारीरहेको
बेलामा सक्खर पानि मात्र खाएकाले मुख च्यापच्याप लागेकाले अनि धुप एकदम बढेकाले बा एकछिन परको नरिवल
रुखको छहारीमा बसे । त्यतिबेला मार्कन्य बाजे त्यहि भैंसीवालालसंग गफ गर्दै थिए ।
एकछिन पछि मार्कन्य बाजे त्यहाँ बाट एकाएक गायब भए । उनलाई खोज्दै बा यताउता हेर्न
थाले । त्यतिकैमा भैंसीवालाले भन्यो , “ हे भाई हम्ने तुमको २७५ मे भैँस
दिया था , तुमने नहि खरिदा ,
देखो
वो भैया जो अभि गए उनोने ३०५ मे खरिद लिया ।” यो सुनेपछि
बा छानाबाट खसेझैँ भए , जसको विस्वास गरेर भैंसी किन्न आएको
उसैबाट यत्रो धोका पाउँदा उनलाई सहि सक्नु भएन । उनले हत्तनपत्त मार्कन्य बालाई र अरु
संगै गएका सबैलाई बोलाए अनि भने , “ यो भैंसीवालाले मलाई २७५ मा नै
भैंसी दिएको थियो , मलाई मार्कन्य बाले नै सिङ ठाडो भएको भैंसी नकिन भन्नु भयो ,
मैले
बाजेको कुरा माने , अनि अहिले चाही बाजेले नै ३०५ मा मोलतोल गर्नु भएछ । यदि आफ्नै
मान्छेमाथि दाऊ हान्ने भए गाउँले हुनुको के अर्थ ?” सधै मार्कन्य
बाजेको पुछर लागेर हिडेकाले कसैले पनि बाको कुरा सुनेनन् बरु उल्टै बालाई झपारे ।
बालाई सहन नसक्नु भयो । उनले एउटा लौरो समाते र भने , “ लो भैया ,
तुमने
२७५ में भैँस दियाथा , इस आदमीने मुजे भड्काया और भैँस ना लेनेको कहि , फिर तुम्से
३०५ का सम्झौता किया “, यति
भन्दाभन्दै बाले रिसले चुर भएर लौरो समाती हाले ।” हिन्दुस्तानमा
खानपिन मिलाएकाले बाको ज्यान देखेर नडराउने कमै हुन्थे । मार्कन्य बाजेले
स्थितिलाई नियन्त्रणमा लिन भैंसी बालाई नै
लैजान भने ।
आफ्नै गाउँका मान्छेबाट यस्तो
व्यवहार सहन नसकी उनी आफ्नो कुरा मिल्ने एकजना दाईसंग भैंसी , पाडा,
पाडी
खरिद गरेर घर फर्किने भए ।
घर फर्किनु पनि कम चुनौती पूर्ण थिएन । बाटो पुरै चारकोसे झाडी
काटेर आउनु पर्थ्यो । फर्किन सुरु गरेको दोस्रो दिन बा ति दाजुका साथ चारकोसे झाडी
आइपुगे । जंगल घनघोर थियो , बाघ प्रसस्तै थिए जंगलमा । बिस्तारै रात पर्यो । माथि टहटह जून लागेको
थियो । बा र ति दाजु जंगलमा बास बस्ने भए। उनीहरु भैंसी पाडापाडीलाई बाँधेर ,
सातु
पानी खाएर निदाउन मात्र के आँटेका थिए बाघ गर्जिएको आवाज आयो । ति दाजु डरले गर्दा
नजिकैको ढलभित्र गएर लुके । बालाई भने भैंसी पाडापाडी कसरी बचाउने भन्ने पीर पर्यो
। उनले हत्तनपत्त पाडापाडीलाई बीचमा जम्मा गरे अनि दुइटा भैंसीलाई एक एक छेउमा
राखे । त्यसपछि दुइवटा लौरोहरु हातमा लिएर सिङ सानो भएको भैंसीमाथि चढे । अब उनी
बाघ नजिकै आउछ कि भनेर एकदम चलाख भएर बसे । एकछिन पछि नभन्दै बाघ आयो । बाले दुबै
लौरोलाई मज्जाले हल्लाउदै भैसीलाई पाडापाडिको यताउता हिँडाए । एकछिन बाघ गर्जियो,
बाको
पनि सातोपुत्लो गयो । केहि समयपछि बाघ बिस्तारै अन्यत्र लाग्यो । बाले बल्ल लामो
सास लिए । त्यसपछि ढलभित्र लुकेका ति दाजुलाई बोलाए । दाजु पनि डरले भुत्तुक्कै
भएका रहेछन , उनले पनि बाघ गएको थाहा पाए पछि मात्र राम्ररी लामो सास लिए
। त्यो रात दुबैजना निदाउन सकेनन् ।
हिडेको चौथो दिन बा घर आइपुगे । दुई पाथी दुध दिने भैंसी ल्याएकोमा सबै दंग परे ।
No comments:
Post a Comment