Monday, December 30, 2013

७० वर्ष अगाडिको काठमाडौँ



७० वर्ष अगाडिको काठमाडौँ


बा काठमाडौँ उपत्यकाको उत्तरपट्टीको सबैभन्दा अग्लो डाडो यानी तारेभिरको लगभग टुप्पोमा छन् ! रातिको १२ बजे तोपखानाबाट तोप हानेपछि घरबाट दाउरा लिनलाई जंगल हिडेका बा बिहानको ७ बज्नै लाग्दा यहाँ आइपुगे ! सुर्य उदाइसके ! मौसम सफा छ ! काठमाडौँ पुरै मज्जासित देखिन्छ ! बा एसो हेर्छन ! धरहराले पहिलो ध्यान आकर्षण गर्छ ! सेतो रंगमा सजिएको धरहरा अटल भै ठडीयेकोमा बा लाई गौरव लाग्छ ! त्यसपछि मानवनिर्मित कुनैपनि आकर्षणको कुरा छैनन् ! राणाका दरबार दृश्यमा चाहिं आउछन ! बा फेरी नियालेर हेर्छन ! टंगालको भिमसम्सेरको दरबार देखिन्छ ! हाँडीगाउँको पद्मसम्सेरको दरबार देखिन्छ ! केशरमहल र बबरमहल पनि केहि हदसम्म देखिन्छन ! पूर्वमा चांगुनारायण बीचमा बौद्धनाथ अनि पस्चिममा स्वयम्भु पनि देखिन्छन ! कहाँ गए त जनता बस्ने घरहरु ?
छन् ! सबै घरहरु जहींको त्यहिँ छन् ! तर उचाईमा बसेर हेर्दा दृश्यमा समेत नआउने अवस्थामा छन् ! बा लाई आफ्नो घर ठम्याउना नसक्दा दुख लाग्छ ! बास्तबमा आफ्नो मात्र नभई सबैको घर उस्तै अवस्थामा छन् ! माटोको गारो लगाएको , जंगलबाट ल्याएका दाउरा हालेर बनाएका झ्याल ढोका अनि कतिपयका खरका छाना ! कसरी देखिउन त यी ? न ई रंगरोगनले  सजिएका छन् , न त यी दरबारका जति उचाइमा नै उभिएका छन् !  बा अब एसो बस्ति नियालछन् ! तारेभिरको फेदैमा २,४ वोटा घर छन् ! हाल त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल भनिने ठाउँ त्यति बेला गौचरन यानी गाई चराउने थलोको रूपमा प्रख्यात छ ! त्यहि नजिकै बाट नियाल्दै जाँदा पशुपतिनाथका वरपर देहपतन ( हाल देउपाटन भनिने) मा २, ४ वटा घर छन् ! बौद्धनाथको वरपर हेर्दा बा दङ्ग पर्छन ! त्यहाँ रहेको चिनियाँ लामा र अंगत लामाको टायले छाना भएका घरहरु प्रस्टै चिनिन्छ.न ! टायले छाना भएका मान्छे राजा सरह गनिन्थे !
टुडिखेलको चौर स्पस्ट देखिन्छ ! येसो टुडिखेल बाट दाँया हेर्दा असन इन्द्रचोकमा चाहिं निकै घरहरु छन् ! असन बजार बाका आँखाभरी नाच्न थाल्छ ! १ दामको (४ दाम = १ पैसा , १०० पैसा = १ रुपैया) खुर्सानी , १ दामको जिरा , १ दामको नून भन्दै ब्यापारीले बजार पिट्ने गरेको झझल्को आउँछ ! असन बजारमा २ दाममा टन्न घ्यू चिउरा खाएको पनि याद आउँछ ! तारेभिरम मुटु नै चिस्याउने स्यांठो चल्छ ! के विदी हावा चलेको हो ! भन्दै बा खास्टो मिलाउछन ! तिन वर्ष अगाडि किनेको खास्टो , यो जाडो त कट्ला कि ? भन्दै घरबाट ल्याएको कोदोको रोटि चपाउन थाल्छन् ! कत्ति सारो भएछ हो रोटि यति चाडै भन्दै पानी पिउंछन् ! दाउरा लिनको लागि अझै ३ कोस हिड्नु छ , गाँठे ! भन्दै बाटो तताउछन् !
हिड्दै जाँदा बाले कटहरको रुख देख्छन ! बालाई घर नजिकैको जगतजंगको दरबारको कटहरको रुख याद आउँछ ! जगतजंग जंगबहादुरका छोरा थिए ! उनको दरबारको रौनक चानचुने थिएन ! सधै सजीसजाउ हुन्थ्यो ! ४ घोडा , ६  घोडावाला बग्गी हेर्न बा दरबार छेउ उफ्री उफ्री जान्थे ! जगतजंगको सवारी हेर्न गाउँलेको  घुइचो नै लाग्थ्यो ! बिचरा जगतजंगको आफ्नै काकाका छोराहरु (बिरसम्सेर, भिमसम्सेर , देवसम्सेर आदि इत्यादी गरि १७ भाई) बाट त्यहि दरबारमा निर्ममतापूर्वक हत्या भयो ! पाजी दाजुभाइको जात भन्दै बा फटाफट हिड्न थाल्छन !
बाटोमा हिड्दै जाँदा बाको आँखामा किन किन आज काठमाडौँको दुख मात्र नाचीरहन्छ ! राति १२ बजे हिडेको घरबाट , दाउरा लिने ठाउँ पुग्न अझै ३ कोस हिड्नु छ , फर्कने कहिले ? फेरी रात पर्छ फर्कदा ! पियूने पानी लिन बागमती पुग्नु पर्छ , नून तेल लिन असन ! जाडो खपिनसक्नु हुन्छ , लाउने खास्टो गतिलो छैन ! वर्षभरि खेतबारीमा काम गर्यो , तल्सिंगलाई बालि तिर्दा खान नै पुग्दैन अन्नपातले ! चामल , पिठो , धान पिन्ने कल खोज्न साँखु पुग्नुपर्छ ! अरु त अरु कसैले पनि केटि नै दिदैनन काठमाडौँका केटालाई दुख पाउँछन् भनेर ! धत् ! म त बरू हिन्दुस्तान नै पस्छु ! भन्दै बा लम्कन्छन जंगल तिर !  

Friday, December 13, 2013

लैनो भैंसी

कुरा २०१९ सालको हो । बा त्यतिबेला हिन्दुस्तानबाट फर्किएर हजुरबाको बर्खी बारिरहेका थिए । १९ सालको समयमा बर्खी बार्नु सामान्य कुरा थिएन । धेरै चोखो बस्नु पर्ने , धेरै बार्नु पर्ने र अझ ठुलो कुरा के भने अरुले धेरै चियोचर्चो गर्ने बारे नबारेको बारेमा । यी चिजहरुकाबीच सामान्य जीवनयापन गर्न नै गाह्रो ।
बर्खी बारिरहेको अवस्थामा भित्री हिन्दुस्तान नजाने निर्णय गरेका बाले अब भैसी लिन नेपाल भारतको सिमामा जाने निर्णय गरे । त्यो बेला तराई अनि भारतको सीमामा भैसी लिन जाने मान्छेहरु प्रसस्तै हुन्थे । अब बा पनि तिनै अगुवाहरुलाई पछ्याउदै भैंसी लिन जाने भए ।
भैंसी लिन जानेको टोली नै गठन भयो गाउँबाट । त्यस टोलीको नेतृत्व बाले बाजे भन्नुपर्ने मार्कन्य नामका व्यक्तिले गरे । पहिलो दिनमा टोली काठमाडौँबाट पैदलै सिमभन्ज्यांग हुँदै जुरेखेत निस्कियो । दोस्रो दिन जुरेखेतबाट हेटौंडा हुँदै दक्षिण लाग्यो । चौथो दिन नेपालको सिमानजिकै रहेको भारतको सीतामढी भन्ने ठाउँमा पुग्यो । सीतामढीमा प्रसस्तै भैंसी दलालहरु भेटिन्थे ।
टोली त्यस रात त्यस ठाउँमा गएर बास बस्यो । भोलि पल्ट देखिन् मारामार भैंसीको मोलतोल हुन्थ्यो । गाउँभरिका भैंसीहरु हेरिन्थ्ये । बालाई त्यस रात निन्द्रा लागेन । मरिमरि मुगलानबाट दुख गरेर कमाएको धन खर्च गरेर पहिलो चोटी भैसी किन्न आएकाले उनलाई कताकता असजिलो महसुस भैराखेको थियो , ठगिने डर थियो , यस्तै सोच्दासोच्दै बिहान भयो ।
बालाई मार्कन्य बाजेका साथमा दलालले  भैंसी देखाउन लग्यो  । बा भैंसीवालाले भैंसी समाईराखेको ठाउँमा पुगे । भैसी काईदाको थियो । मोटोघाटो लैनो भैंसी देखनासाथ बालाई किनौंकिनौं लाग्यो । दुध पनि दिनको २ पाथी दीँदो  रहेछ , अब अरु के चाहीयो र ? बाले भने , “ भैया ये भैँसके दाम कितने लोगे ? ”   भैंसीवालाले  भन्यो , “तुम नेपाली लोग सच्चे होते हो , यिस लिए में तुम लोगोसे ज्यादा प्येसे नहिलुंगा, ३०० में लेजावो।यस्तो मिठो बोलेर व्यापार गरेको बाले हिन्दुस्तानमा थुप्रै देखेका थिए , तसर्थ उनले भने, “ भैया ३०० नहि २५० मे दो ।“  भैंसीवालाले भन्यो , “ २७५ मे ले जावो ।यतिका बेलासम्म चुपचाप बसेका मार्कन्य बाजेले भने , “ धत् ! यस्तो भैंसी पनि लैजान्छन् ! सिङ भाला जस्तो छन्  , मर्लास ए भैंसीले हानेर , म भएको भए पांच पैसा पनि हाल्दैन थिए यो भैंसीलाई ।पाका बाजेको कुरामा बालाई विस्वास लाग्यो । उनले भैंसी नलिने विचार गरे । बर्खी बारीरहेको बेलामा सक्खर पानि मात्र खाएकाले मुख च्यापच्याप लागेकाले  अनि धुप एकदम बढेकाले बा एकछिन परको नरिवल रुखको छहारीमा बसे । त्यतिबेला मार्कन्य बाजे त्यहि भैंसीवालालसंग गफ गर्दै थिए । एकछिन पछि मार्कन्य बाजे त्यहाँ बाट एकाएक गायब भए । उनलाई खोज्दै बा यताउता हेर्न थाले । त्यतिकैमा भैंसीवालाले भन्यो , “ हे भाई हम्ने तुमको २७५ मे भैँस दिया था , तुमने नहि खरिदा  , देखो वो भैया जो अभि गए उनोने ३०५ मे खरिद लिया ।यो सुनेपछि बा छानाबाट खसेझैँ भए , जसको विस्वास गरेर भैंसी किन्न आएको उसैबाट यत्रो धोका पाउँदा उनलाई सहि सक्नु भएन । उनले हत्तनपत्त मार्कन्य बालाई र अरु संगै गएका सबैलाई बोलाए अनि भने , “ यो भैंसीवालाले मलाई २७५ मा नै भैंसी दिएको थियो , मलाई मार्कन्य बाले नै सिङ ठाडो भएको भैंसी नकिन भन्नु भयो , मैले बाजेको कुरा माने , अनि अहिले चाही बाजेले नै ३०५ मा मोलतोल गर्नु भएछ । यदि आफ्नै मान्छेमाथि दाऊ हान्ने भए गाउँले हुनुको के अर्थ ?” सधै मार्कन्य बाजेको पुछर लागेर हिडेकाले कसैले पनि बाको कुरा सुनेनन् बरु उल्टै बालाई झपारे । बालाई सहन नसक्नु भयो । उनले एउटा लौरो समाते र भने , “ लो भैया , तुमने २७५ में भैँस दियाथा , इस आदमीने मुजे भड्काया और  भैँस ना लेनेको कहि , फिर तुम्से ३०५ का  सम्झौता किया “, यति भन्दाभन्दै बाले रिसले चुर भएर लौरो समाती हाले ।हिन्दुस्तानमा खानपिन मिलाएकाले बाको ज्यान देखेर नडराउने कमै हुन्थे । मार्कन्य बाजेले स्थितिलाई  नियन्त्रणमा लिन भैंसी बालाई नै लैजान भने ।
आफ्नै गाउँका मान्छेबाट यस्तो  व्यवहार सहन नसकी उनी आफ्नो कुरा मिल्ने एकजना दाईसंग भैंसी , पाडा, पाडी खरिद गरेर घर फर्किने भए ।
घर फर्किनु पनि कम चुनौती पूर्ण थिएन । बाटो पुरै चारकोसे झाडी काटेर आउनु पर्थ्यो । फर्किन सुरु गरेको दोस्रो दिन बा ति दाजुका साथ चारकोसे झाडी आइपुगे । जंगल घनघोर थियो , बाघ प्रसस्तै थिए जंगलमा ।  बिस्तारै रात पर्यो । माथि टहटह जून लागेको थियो । बा र ति दाजु जंगलमा बास बस्ने भए। उनीहरु भैंसी पाडापाडीलाई बाँधेर , सातु पानी खाएर निदाउन मात्र के आँटेका थिए बाघ गर्जिएको आवाज आयो । ति दाजु डरले गर्दा नजिकैको ढलभित्र गएर लुके । बालाई भने भैंसी पाडापाडी कसरी बचाउने भन्ने पीर पर्यो । उनले हत्तनपत्त पाडापाडीलाई बीचमा जम्मा गरे अनि दुइटा भैंसीलाई एक एक छेउमा राखे । त्यसपछि दुइवटा लौरोहरु हातमा लिएर सिङ सानो भएको भैंसीमाथि चढे । अब उनी बाघ नजिकै आउछ कि भनेर एकदम चलाख भएर बसे । एकछिन पछि नभन्दै बाघ आयो । बाले दुबै लौरोलाई मज्जाले हल्लाउदै भैसीलाई पाडापाडिको यताउता हिँडाए । एकछिन बाघ गर्जियो, बाको पनि सातोपुत्लो गयो । केहि समयपछि बाघ बिस्तारै अन्यत्र लाग्यो । बाले बल्ल लामो सास लिए । त्यसपछि ढलभित्र लुकेका ति दाजुलाई बोलाए । दाजु पनि डरले भुत्तुक्कै भएका रहेछन , उनले पनि बाघ गएको थाहा पाए पछि मात्र राम्ररी लामो सास लिए ।  त्यो रात दुबैजना निदाउन सकेनन् ।

हिडेको चौथो दिन बा घर आइपुगे । दुई पाथी दुध दिने  भैंसी ल्याएकोमा सबै दंग परे । 

Tuesday, December 10, 2013

परदेशको पैसा

कुरा २०२२ सालको हो , बा हिन्दुस्तान  र पाकिस्तानको युद्ध ताका देउकी भन्ने स्थानमा थिए । त्यो बेला उनी एउटा डिस्पेन्सरीमा काम गर्थे । चुहिने छानो भएको घर अनि ६ महिना पनि मज्जाले खान नपुग्ने अन्न उब्जने खेतबारी मात्र देखेका बालाई डिस्पेन्सरीको कमाई राम्रो नै थियो । उनले दुख गरेर २, ४ पैसा भएपनि जोगाएका थिए । केहि पैसा जोगाएपछी उनलाई घरमा खान बस्न राम्ररी नसकेका आमा र भाईहरुको याद आउन थाल्यो । अब बाले घर फर्कने बिचार गरे । केहि दिन नबित्दै बा नेपाल फर्कने भए । अगिल्लो  चोटी  पसिना बगाएर कमाएर ल्याएको १४५ रुपैंया बाटैमा चोरी भएको थियो । यसपाली बा अलि सतर्क थिए । उनले पैसालाई पटुकामा राम्रो संग कम्मरमा बेरे , पटुकामा पैसा मात्र बेरेनन् खुकुरी पनि बेरे । यसपाली पाकेटमार भेटियो भने कि त्यो छैन कि म छैनभन्ने बाको सोच थियो ।
बा रेलको यात्रा गर्दै रक्सौल आइपुगे । त्यसपछि बस हेटौडा सम्म लाग्थ्यो ।  बा बसमा चढे । यसपाली बालाई बसभित्र एकदमै अनौठो महसुस् भैराखेको थियो । अगिल्लो चोटी हाडछाला घोटेर कमाएको पैसा सबै चोरीएकाले यसपाली बस भित्रका सबै मानिसहरुलाई बाले  पराया मात्र हुन् भन्ठाने । बालाई कोहि संग पनि बोल्न मन थिएन । उनी केवल पटुकामा भएको पैसाको बारेमा ख्याल गरिराखेका थिए । एक मनले बसिरहेका बालाई पछाडीबाट कसैले बोलायो । बा झसक्क भए । पछाडीबाट बालाई बोलाउने मान्छे खाइलाग्दो देखिन्थ्यो । उसले फौजीको  पाइन्ट लगाएको थियो । बा अलि ढुक्क भए । फौजी पाइन्टवाला नेपाली नै रहेछ , बिस्तारै चिना पर्चीहुदै गयो । फौजी पाइन्ट हिन्दुस्तानी सेनाबाट युद्दताका बर्मा पुगेको रहेछ । बर्मामा गोलीको बर्सात सहन नसकेकाले बर्माबाट भागेर आएको रहेछ । उसले बालाई पनि भागेर आएको हो भनि सोध्यो , बाले आफु तेसो नभई डिस्पेन्सरीबाट घर फर्कने इजाजत लिई घर फर्कन लागेको बताए । फौजी पाइन्ट  प्रफ्फुलित देखियो ।
झुत्रे झाम्रे लवाई देखेर फौजीले बालाई दुख पाएको ठिटो सम्झेछ । हुन त दुख नपाएका पनि होइनन् । झुत्रे झाम्रे बालाई फौजीले बाटोमा के के खान्छस भनि सोध्दै मिठो मिठो जुल्पी , पुरी , रोटि खुवाउदै आयो । बा पनि मक्ख थिए । उसले पनि दुख गरेर ७००० जम्मा गरेको रहेछ । उसको पनि बिडम्बना उस्तै रहेछ ।
बस हेटौडा आइपुग्यो , सबै ओर्लिए । बालाई अब काठमाडौँ आउनु थियो । फौजी पाइन्ट पनि काठमाडौँ नै आउने रहेछ । उसले बालाई कसरी जान्छस अब काठमाडौँ भनि सोध्यो , बाले हिडेर जाने भने । त्यतिकैमा त्यहाँ भर्खरै बाइरोडको बाटो हुदै  काठमडौँ जान सुरु गरेको टरक भेटियो । फौजी पाइन्टले बालाई लौ हिन येसैमा जाउँ भन्यो अनि बा पनि सर्लक्क टरक चढे ।  बाइरोडको घुम्ती चक्कर मार्दै टरक काठमाडौँ आइपुग्यो । फौजी पाइन्टले पैसा तिरिदियो टरकको पनि । फौजीले बालाई घर ठ्याक्कै कहाँ हो भनि सोध्यो , बाले ठ्याक्कै एयरपोर्टको पूर्वपट्टि बताए । फौजी पाइन्टको चाही लुभुमा रहेछ । उ एउटा सार्कीको छोरो रहेछ , बाले आफु जैसीको छोरो भएको बताए , एकाएक रास्तामा भेटिएको परायाले देखाएको उपकारले बा निकै प्रभावित भए । उनले फौजीलाई आफुले पनि परदेशबाट दुख गरेर १४००० ल्याएको बताए अनि फौजी पाइन्टले आफ्नो लागि खर्च गरेको पैसाको दोब्बर पैसा लिन आग्रह गरे । फौजी पाइन्टले पैसा लिन मान्दै मानेन , केहि घण्टा अगाडिसम्म अपरिचित यी दुई व्यक्तिहरु अब सालौदेखि परिचित सरह भैसकेका थिए । तैपनि  दुइजना  आ आफ्नो गन्तव्यतिर लागे ।
बालाई अझै पनि पैसा घरमा लैजान मन थिएन । चोरी चकारिको डर थियो । त्यसैले पैसा बैंकमा राखने निदो गरे । त्यसताका बसन्तपुरमा नेपालको एकमात्र बैंक थियो । बाले त्यहि नै  पैसा राखने निर्णय गरे , पैसा जम्मा गर्न बैंक जादा बैंकको म्यानेजरले त्यतिका पैसा कहाँ बाट ल्याएको भनि सोध्यो । पैसाको स्रोत नखुली बैंकमा जम्मा नगर्ने बतायो । बाले पनि आफुले परदेशमा डिस्पेन्सरीमा दुख गरि कमाएको बताए, आफुसंग वारंत रिकर्ड रहेको बताए । म्यानेजरले बाको कुरा बुझेन  अनि बा घर फर्किए ।
एकदिन पैसा घरमा नै बस्यो , बालाई जसरि भएपनि बैंकमा नै पैसा जम्मा गर्नु थियो । अनि उनले गाउँका एक सीछित मात्र नभई इन्जिनीयरनै भैसकेका नाताले काका भन्नुपर्नेलाई गुहारे । इन्जिनीयर काकाले पनि भातिजोको कुरालाई काट्न सकेनन्  अनि बैंकमा गएर कमाइको सम्पूर्ण विवरण दिएर बैंकमा पैसा जम्मा गरिदिए । बा पैसा जम्मा गर्न सकेकोमा दङ्ग परे ।