Monday, December 30, 2013

७० वर्ष अगाडिको काठमाडौँ



७० वर्ष अगाडिको काठमाडौँ


बा काठमाडौँ उपत्यकाको उत्तरपट्टीको सबैभन्दा अग्लो डाडो यानी तारेभिरको लगभग टुप्पोमा छन् ! रातिको १२ बजे तोपखानाबाट तोप हानेपछि घरबाट दाउरा लिनलाई जंगल हिडेका बा बिहानको ७ बज्नै लाग्दा यहाँ आइपुगे ! सुर्य उदाइसके ! मौसम सफा छ ! काठमाडौँ पुरै मज्जासित देखिन्छ ! बा एसो हेर्छन ! धरहराले पहिलो ध्यान आकर्षण गर्छ ! सेतो रंगमा सजिएको धरहरा अटल भै ठडीयेकोमा बा लाई गौरव लाग्छ ! त्यसपछि मानवनिर्मित कुनैपनि आकर्षणको कुरा छैनन् ! राणाका दरबार दृश्यमा चाहिं आउछन ! बा फेरी नियालेर हेर्छन ! टंगालको भिमसम्सेरको दरबार देखिन्छ ! हाँडीगाउँको पद्मसम्सेरको दरबार देखिन्छ ! केशरमहल र बबरमहल पनि केहि हदसम्म देखिन्छन ! पूर्वमा चांगुनारायण बीचमा बौद्धनाथ अनि पस्चिममा स्वयम्भु पनि देखिन्छन ! कहाँ गए त जनता बस्ने घरहरु ?
छन् ! सबै घरहरु जहींको त्यहिँ छन् ! तर उचाईमा बसेर हेर्दा दृश्यमा समेत नआउने अवस्थामा छन् ! बा लाई आफ्नो घर ठम्याउना नसक्दा दुख लाग्छ ! बास्तबमा आफ्नो मात्र नभई सबैको घर उस्तै अवस्थामा छन् ! माटोको गारो लगाएको , जंगलबाट ल्याएका दाउरा हालेर बनाएका झ्याल ढोका अनि कतिपयका खरका छाना ! कसरी देखिउन त यी ? न ई रंगरोगनले  सजिएका छन् , न त यी दरबारका जति उचाइमा नै उभिएका छन् !  बा अब एसो बस्ति नियालछन् ! तारेभिरको फेदैमा २,४ वोटा घर छन् ! हाल त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल भनिने ठाउँ त्यति बेला गौचरन यानी गाई चराउने थलोको रूपमा प्रख्यात छ ! त्यहि नजिकै बाट नियाल्दै जाँदा पशुपतिनाथका वरपर देहपतन ( हाल देउपाटन भनिने) मा २, ४ वटा घर छन् ! बौद्धनाथको वरपर हेर्दा बा दङ्ग पर्छन ! त्यहाँ रहेको चिनियाँ लामा र अंगत लामाको टायले छाना भएका घरहरु प्रस्टै चिनिन्छ.न ! टायले छाना भएका मान्छे राजा सरह गनिन्थे !
टुडिखेलको चौर स्पस्ट देखिन्छ ! येसो टुडिखेल बाट दाँया हेर्दा असन इन्द्रचोकमा चाहिं निकै घरहरु छन् ! असन बजार बाका आँखाभरी नाच्न थाल्छ ! १ दामको (४ दाम = १ पैसा , १०० पैसा = १ रुपैया) खुर्सानी , १ दामको जिरा , १ दामको नून भन्दै ब्यापारीले बजार पिट्ने गरेको झझल्को आउँछ ! असन बजारमा २ दाममा टन्न घ्यू चिउरा खाएको पनि याद आउँछ ! तारेभिरम मुटु नै चिस्याउने स्यांठो चल्छ ! के विदी हावा चलेको हो ! भन्दै बा खास्टो मिलाउछन ! तिन वर्ष अगाडि किनेको खास्टो , यो जाडो त कट्ला कि ? भन्दै घरबाट ल्याएको कोदोको रोटि चपाउन थाल्छन् ! कत्ति सारो भएछ हो रोटि यति चाडै भन्दै पानी पिउंछन् ! दाउरा लिनको लागि अझै ३ कोस हिड्नु छ , गाँठे ! भन्दै बाटो तताउछन् !
हिड्दै जाँदा बाले कटहरको रुख देख्छन ! बालाई घर नजिकैको जगतजंगको दरबारको कटहरको रुख याद आउँछ ! जगतजंग जंगबहादुरका छोरा थिए ! उनको दरबारको रौनक चानचुने थिएन ! सधै सजीसजाउ हुन्थ्यो ! ४ घोडा , ६  घोडावाला बग्गी हेर्न बा दरबार छेउ उफ्री उफ्री जान्थे ! जगतजंगको सवारी हेर्न गाउँलेको  घुइचो नै लाग्थ्यो ! बिचरा जगतजंगको आफ्नै काकाका छोराहरु (बिरसम्सेर, भिमसम्सेर , देवसम्सेर आदि इत्यादी गरि १७ भाई) बाट त्यहि दरबारमा निर्ममतापूर्वक हत्या भयो ! पाजी दाजुभाइको जात भन्दै बा फटाफट हिड्न थाल्छन !
बाटोमा हिड्दै जाँदा बाको आँखामा किन किन आज काठमाडौँको दुख मात्र नाचीरहन्छ ! राति १२ बजे हिडेको घरबाट , दाउरा लिने ठाउँ पुग्न अझै ३ कोस हिड्नु छ , फर्कने कहिले ? फेरी रात पर्छ फर्कदा ! पियूने पानी लिन बागमती पुग्नु पर्छ , नून तेल लिन असन ! जाडो खपिनसक्नु हुन्छ , लाउने खास्टो गतिलो छैन ! वर्षभरि खेतबारीमा काम गर्यो , तल्सिंगलाई बालि तिर्दा खान नै पुग्दैन अन्नपातले ! चामल , पिठो , धान पिन्ने कल खोज्न साँखु पुग्नुपर्छ ! अरु त अरु कसैले पनि केटि नै दिदैनन काठमाडौँका केटालाई दुख पाउँछन् भनेर ! धत् ! म त बरू हिन्दुस्तान नै पस्छु ! भन्दै बा लम्कन्छन जंगल तिर !  

1 comment:

  1. मेरो अनि उपत्यकाको मध्य भागमा अवस्थित गौचरन, गोठाटार र मुलपानीका धेरै बा हरूको सत्य कथा ।

    ReplyDelete